Color

मनोरञ्जन

पुरन गुरुङ र शान्ति गुरुङको “पूर्णिमाको जून” सार्वजनिक ।

पुरन गुरुङ र शान्ति गुरुङको “पूर्णिमाको जून” सार्वजनिक ।

बोम्जन गुरुङ, सउल कोरिया ।

२२ नोभेम्बर २०२०

नेपाली लोक तथा दोहोरी गीत र संगीतको क्षेत्रमा एक उदयीमान गायक तथा सर्जक पुरन गुरुङ र शान्ति गुरुङले गुरुङ भाषाको गीत पूर्णेर्बे लैं “पूर्णिमाको जून” बजारमा ल्याएका छन् । गुरुङ संस्कृतिमा बसिने रोधींमा सुख दुःखको साटासाट, मायाप्रेमका भावहरु यस गीतमा समेटिएको छ । समय र आधुनिकताले कोल्टो फेर्दै गर्दा लोपन्मुख रोधींको महत्वसँगै यसको संरक्षण र जगेर्ना गर्नुपर्छ भन्ने सुखद सन्देश गीत मार्फत दिन खोजिएको छ । पुरन गुरुङकै शब्द/संगीतमा रहेको यस गीतमा पुरन गुरुङ र शान्ति गुरुङको सुमधुर आवाजले सजिएको छ । सन्तोष कोन्मेको सम्पादन, क्यामेरामा दावा नोर्बु शेर्पा र दिराग थापा मगर रहेका छन् भने ऐरेन्जर र मिक्सिङको जिम्मा जुजु गुरुङले सम्हालेका छन् । गीतको मिठो लय/शब्द र सुमधुर आवाजसँगै संगीतले रोधींको झझल्को दिएको छ ।

पुरन गुरुङले पहिलो सांगीतिक कोसेली स्वरुप “बोली फुटेन” बजारमा ल्याएका थिए त्यसपछि केही महिना अघि मात्र रिलिज भएको गुरुङ गीत “ए ङोल्स्यो मारा” अत्याधिक रुचाईएको गीत हो भने यसभन्दा अघि परदेशी छोरी, मौलिक सालैजो पर्ख नानी लगायतका गीतमा स्वर दिएकी शान्ति गुरुङले श्रोतामाझ लोकप्रियताको छाप छोडिसकेकी छिन् । निकट भविष्यमा अझ उत्कृष्ट म्यूजिक भिडियो तयार गरिने निर्माण पक्षले जनाएको छ ।

यो गीत पूर्णेर्बे लैं “पूर्णिमाको जून” Konme Entertainment नामक यूट्यूब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा उपलब्ध छ । कोन्मे इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति रहेको यस गुरुङ दोहोरी गीतलाई नेपाली भाषामा समेत अनुवाद (सब्टाइटल) राखिएको अर्को आकर्षक पक्ष हो । कोरियाको सउल स्थित दर्शन नमस्ते रेष्टुरेण्टमा विमोचन कार्यक्रम गर्दै उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । पुरन गुरुङको सभापतित्वमा सम्पन्न सो विमोचन कार्यक्रममा नेपाल मगर संघ कोरियाका अध्यक्ष सि.पी. मगरको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि तमू धीं दक्षिण कोरियाका संरक्षक भिम गुरुङ (पर्वत), अतिथिहरुमा तमू धीं अध्यक्ष जीत गुरुङ, कास्की परिवार दक्षिण कोरियाका संरक्षक खोम गुरुङ, आदिवासी जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल टेण्डुप शेर्पा, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका रञ्जन राज कुँवर, एनआरएनए कोरियाका निवर्तमान वरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ, तमू धीं कोरियाका सल्लाहकारहरु प्रितम गुरुङ, हर्कमान गुरुङ र लीना गुरुङ, कास्की परिवारका सल्लाहकार दिल जलारी पासा, वुमन फर वुमन कोरियाकी अध्यक्ष ऋतु श्रेष्ठ, अन्नपूर्ण दुधपोखरी समाज कोरियाका अध्यक्ष देव नारायण गुरुङ लगायत रहेका थिए ।

विमोचन पश्चात उपस्थित महानुभावहरुले उक्त गीतको प्रशंसा गर्दै सांगीतिक सफलताको शुभकामना व्यक्त गरेका थिए । सो गीतलाई गुरुङहरुको पौराणिक धरोहर संस्कृति रोधींसँग तुलनात्मक रुपमा तमू धीं दक्षिण कोरियाका महासचिब लेसन गुरुङ्ले समिक्षा गरेका थिए भने कार्यक्रम सञ्चालन सोनाम ह्योल्मोले गरेकी थिईन् ।

[भिडियो हेर्न तल को यूट्यूब लिंक क्लिक गर्नुहोला ।]

प्रतिक्रिया दिनुहोस