बोम्जन गुरुङ, सउल कोरिया ।
०६ सेप्टेम्बर २०२०
स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका वडा नं २ लामडाँडा निवासी हाल उपचारार्थ मृगौला रोगले थलिएका दुईजना बिरामीहरु डिल बहादुर गुरुङ (जुगेपानी) र सुस्मिता गुरुङ (काउले हे) को पारिवारिक आर्थिक अवस्था कमजोर रहेको कारण जीवन रक्षार्थका लागि हाल दक्षिण कोरियामा कार्यरत स्याङ्जा चिउरी खर्क समन्वय समितिका सल्लाहकार समेत रहेका सामाजिक अभियन्ता प्रितम गुरुङ र समाजसेवी सोबित गुरुङको संयुक्त पहलमा संकलित करिब दुई लाख रुपैंया एक कार्यक्रम आयोजना गरी पीडित पक्षलाई हस्तान्तरण गरिएको छ ।
दक्षिण कोरियामा रहेका बिरामीको आफन्तजन, शुभचिन्तक तथा सहयोगी व्यक्तित्वहरुसँग उपचारार्थ दुई बिरामीको लागी आर्थिक संकलन अभियान सञ्चालन गरिएको थियो । यही सेप्टेम्बर ३ तारिक अर्थात २०७७ भाद्र १८ गतेका दिन दिग्दर्शन युवा क्लब लामडाँडाका प्रतिनिधि, स्याङ्जा चिउरी खर्क समन्वय समितिका पदाधिकारी एवं सदस्यहरु, स्थानीय समाजसेवी, बुद्धिजीवीहरु एवं पिडित परिवारका सदस्यहरुको उपस्थितिका विच तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद स्याङ्जा जिल्ला अध्यक्ष तथा स्याङ्जा चिउरी खर्क समन्वय समितिका अध्यक्ष श्री रबिन्द्र कुमार गुरुङज्यूले बिरामीहरुलाई प्रत्यक्ष भेट गरी सो संकलित सहयोग रकम हस्तान्तरण गरिएको हो ।
साथै उक्त अभियान चल्दै गर्दा सोही लामडाँडा गाउँ निवासी थप एकजना चौ माया गुरुङको पनि दुवै मृगौलाले काम नगरेको र उपचारमा धेरै आर्थिक समस्या भईहेको जानकारी सहित आर्थिक सहयोगका लागि अनुरोध गरेको हुनाले सम्बन्धित बिरामीहरुका परिवार, दिग्दर्शन युवा क्लबका प्रतिनिधि, स्याङ्जा चिउरी खर्क समन्वय समितिका प्रतिनिधि र आर्थिक संकलन अभियन्ताहरु विचको छलफल र निर्णय गरे बमोजिम यसै अभियानबाट संकलित रकमबाट केहि प्रतिशत रकम तेश्रो मृगौला बिरामी चौ माया गुरुङलाई हस्तान्तरण गरिएको थियो ।
उक्त मृगौला रोगबाट पिडित तीनै बिरामीहरुका लागि स्याङ्जा चिउरी खर्क समन्वय समिति भीरकोट न.पा. ७ चिउरी खर्कले पनि आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेको सन्दर्भमा दक्षिण कोरियाबाट संकलित रकम सो समिति संग सहकार्य गरी हस्तान्तरण गरिएको जानकारी सहित अभियन्ता प्रितम गुरुङले सहयोगी सम्पूर्णमा हार्दिक आभारका साथ धन्यवाद व्यक्त गरेका छन् । आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्नुहुने सहयोगी दाताहरुको सम्पूर्ण विवरण अभियन्ता गुरुङले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् l