बोम्जन गुरुङ, दक्षिण कोरिया ।
२६ जनवरी २०२०
कोरियन् नयाँ वर्ष सलनालको अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले आयोजना गरेको “सउल सांगीतिक साँझ” कार्यक्रमका लागी नेपालबाट आमन्त्रित लोक तथा दोहोरी क्षेत्रका अत्यन्त चर्चित लोक तथा दोहोरी गायिका/स्याङ्जाली चेली संगीता थापा मगरलाई स्याङ्जा परिवारले सम्मान गरेको छ । स्याङ्जा परिवार केन्द्रीय कार्यसमिति सदस्य ललिता गुरुङ र संस्थाका शुभचिन्तक तथा सक्रिय व्यक्तित्व सागर गुरुङको सुपुत्र शोमिक गुरुङको शुभ अन्न प्राशनको सुखद समारोहका विच कलाकार थापा मगरलाई सम्मान गरिएको हो ।
सो सम्मान कार्यक्रममा स्याङ्जा परिवारको तर्फबाट संस्थागत रुपमा केन्द्रीय अध्यक्ष युवराज गुरुङबाट सम्मान पत्र, वरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङले दोसल्ला, सांस्कृतिक विभाग प्रमुख सतिश गुरुङबाट सोही हलमा संकलित मायाको चिनो/हौसला स्वरुप केहि रकम, स्याङ्जा परिवारका केन्द्रीय सल्लाहकारहरु, केन्द्रीय समितिमा आबद्व पदाधिकारी एवं सदस्यहरु, विभागीय प्रमुखहरु, गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाका निवर्तमान अध्यक्ष/वर्तमान ICC सदस्य लक्ष्मी लामा गुरुङ, नेपाल मगर संघ दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष सि.पी. मगर, तमू धीं दक्षिण कोरियाका केन्द्रीय महासचिव लेसन गुरुङ, अन्नपूर्ण दूधपोखरी समाजका निवर्तमान अध्यक्ष लीना गुरुङ हाईसुब्बा, अन्नपूर्ण दूधपोखरी समाजका वर्तमान अध्यक्ष देव नारायण गुरुङ, स्याङ्जा भिरकोट आठथर तमू समाजका निवर्तमान अध्यक्ष नर कुमार गुरुङ, राष्ट्रिय कलाकार इन्द्रा गुरुङ लगायतका अन्य व्यक्तित्वहरुबाट कलाकार थापा मगरलाई दोसल्ला/खादाले व्यक्तिगत रुपमा समेत सम्मानित गरिएको थियो ।
कोरियामा आयोजना गरिने हरेक सांस्कृतिक कार्यक्रम वा खेलकूद प्रतियोगिता लगायतका उद्वेश्य बोकेर आमन्त्रित भएका कलाकार, खेलाडी वा स्याङ्जा जिल्लाको प्रतिष्ठासँग जोडिएर आउने महत्वपूर्ण तथा मूर्धन्य व्यक्तित्वहरुलाई संस्थाले सम्मान कार्यक्रम जोड्दै आइरहेको परिप्रेक्ष्यमा कलाकार संगीता थापा मगरलाई सम्मान गरिएको हो ।
यसभन्दा केहि हप्ता अगाडी कोरियामा तमू ल्होसारका लागि आमन्त्रित राष्ट्रिय कलाकार लोक तथा दोहोरी गायिका इन्द्रा गुरुङ र माघे संक्रान्तिका लागी आमन्त्रित राष्ट्रिय कलाकार सुमन थापा मगरलाई स्याङ्जा परिवारले सम्मान गरिसकेको छ । जनवरी २५ तारिक सउल जोंगाक स्थितको पानोरामा बुफेमा सम्पन्न सो अन्न प्राशन समारोह र कलाकार सम्मान कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव भक्त थापा मगरले गरेका थिए ।