निर्देशक- दीपक वली
कलाकार– प्रविन खतिवडा, सन्ध्या केसी, विजय बराल, भोलाराज सापकोटा, प्रमोद अग्रहरी आदि ।
जनरा- सोशल ड्रामा
अवधी- दुई घण्टा
केही समययता नेपाली फिल्म प्रदर्शनको क्रम जसरी बढेको, उसैगरी चुपचाप थन्को पनि लाग्दै आएको छ । यो सिलसिला हरेक सुक्रवार जारी छ । अघिल्लो केही साता बलिउड फिल्म ‘सञ्जु’ले ठाउँ ओगटेको थियो, जसको रफ्तार अहिले धिमा भइसकेको छ । र, आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘धडक’ले नेपाली फिल्मको ‘स्पेश’ खाइदिन्छ भन्ने छैन, जो जान्भी कपुरको पहिलो फिल्म हो ।
श्रीदेवी पुत्री जान्भी र ईशान खट्टरलाई लिएर किशोर पुस्ताका लागि करण जौहरले निर्माण गरेको ‘धडक’ बलिउडको औसत फिल्म हो । तर, यो फिल्मसँग जुधेर आज (सुक्रबार)देखि प्रदर्शनमा आएका तीन नेपाली फिल्मले घरेलु दर्शक तान्ने सामथ्र्य राख्छ ?
कुरा गरौं, पण्डित बाजेको लौरी ।
यो फिल्ममा एउटा गजब अन्र्तसंघर्ष निर्माण गरिएको छ, बादी समुदाय र पण्डितबीच । फिल्मको परिकल्पना जसरी गरिएको छ, त्यो निकै घतलाग्दो छ । वादी समुदाय, जो १४ औ शताब्दीतिर भारतबाट नेपाल भित्रिएका थिए । ठूलाबढाका खातिर नाचगान गरेर, आफ्नो तन सुम्पिएर मनोरञ्जन दिलाउने परम्पराबाट गुज्रिदै आएका तिनै बादी समुदायको मर्मबाट फिल्मको तानाबाना बुनिएको छ ।